एक सय एक प्रतिज्ञा - मनोज गजुरेल

म यो नयाँ वर्ष २०६८ मा निम्न प्रतिज्ञा गर्दछु

कलेजमा 'पार्टी' खोल्दिनँ। स्कूल, क्याम्पस पोल्दिनँ।


छात्राको कपाल तान्दिनँ, 'कागजको जहाज' हान्दिनँ।
शिक्षकलाई कुट्न छोड्दिन्छु, पढाइतिर जोड दिन्छु।
ट्वाइलेटमा 'जेपिटी' गर्दिनँ, फोहोरी शब्द कोर्दिनँ।
अर्काको मात्रै खाएर चल्दैन, दिनेको सधै फल्दैन।
म पनि पैसा झिकौंला, सहकार्य गर्न सिकौंला।
अर्काको किताब मागेर, देख्ला कि भन्दै भागेर।
'हैन म' भन्दै ढाँटेर, आएको फोन काटेर।
लिच्चडको बानी छोड्नेछु, नैतिकताले जोड्नेछु।
'मिसकल' गर्ने नानीलाई, 'डिस्टर्ब गर्ने' बानीलाई।
आजैदेखि घटाउँछु, मनैदेखि हटाउँछु।
फेसबुकको फाँसी चढ्दिनँ, 'पोर्नो साइट' पढ्दिनँ।
च्याटिङको चक्कर चुँडाउँछु, 'नेटको नशा' उडाउँछु।
अगाडि 'वाह वाह' भन्दिनँ,पछाडि खुट्टा तान्दिनँ।
दुई जनालाई जुधाउने, बीचमा आफू उदाउने।
मलाई भेटे मै राम्रो, उसलाई देखे त्यही राम्रो।
'छेपारे बानी' छोडौंला, 'पारदर्शी बानी' जोडौंला।
खानलाई कुनै लाज छैन, आएको 'कोही बात छैन'।
सेकुवा छोयला नछुटाउने, पेट बढ्यो भन्दै पछुताउने।
मासु र रक्सी तनतनी, 'युरिक र ग्यास्टिक'ले फनफनी।
पिएको बेला 'हाई' भन्ने, होसमा आउँदा नचिन्ने।
यस्तो बानी त्यागौंला, 'पोजिपटभ वे'मा लागौंला।
टाउकामा जापानिज जेल लाउँदै, केशमा ताइवानी तेल लाउँदै।
जीउमा इन्डियन कुर्ता छ, पाउ जर्मन जुत्ता छ ।
मुखमा अंग्रेजी पारा छ, राष्ट्रवादको नारा छ।
ढोंगको यो ढोका खोल्नेछु, सक्ने मात्रै बोल्नेछु।
फलानो डाक्टर बन्यो रे, नोटका बिटा गन्यो रे।
चिलानो विदेश गयो रे, करोडपति भयो रे।
आफ्नो त कर्म फुटेको, भावीले पनि लुटेको।
यो 'कथा कथ्न' छोडिदिन्छु, आफैं 'केही गर्न' जोड दिन्छु।
नाक कोट्याउदै बोल्दिनँ, 'बैठक' कन्याउदै चल्दिनँ।
मान्छेका अगाडि डकार्ने, खाएका ठाउँमा खकार्ने।
पान खाएर भित्तामा, छिमेकीको कित्तामा।
'डाइपर' र 'प्याड' फाल्दिनँ, चोकमा फोहर बाल्दिनँ।
आफ्नाको गल्तीलाई ढाकछोप। अर्काको गल्तीलाई नाक छोप्।
घर सपि्रए आफूले गर्दा, घर बिगि्रए बाबा र मामुले गर्दा।
राम्रो बोले मैजस्तो, नराम्रो गरे तैंजस्तो।
मेरो बाबुको आची अचारजस्तो, तेरो नानीको आचीको पनि आचीजस्तो।
यस्तो दम्भ छोड्नेछु, सत्यको तार जोड्नेछु।
पार्टीको पावर बोकेर, ट्राफिकको टाउकामा ठोकेर।
नेताको फोटो टाँसेर, भ्रमको माला गाँसेर।
जनता झुक्याउन छाडौंला, इमानको झन्डा गाडौंला।
मन्त्रीलाई मैले चिन्या छु। हाकिमलाई पनि किन्या छु।
भनेर धक्कु लाउँदिनँ। चाकडी गर्न धाउँदिनँ।
बिहान रेडियो सुनेर। आजको योजना बुनेर।
पत्रकारको बिल्ला भिरेर। सम्मेलनभित्र छिरेर।
साँझको छाक टार्दिनँ। आयोजकलाई घाटा पार्दिनँ।
सिङ्गरको 'ट्याग' लाएर, कसिङ्गर काम गर्दिनँ।
'लिप् सिङ्' र 'थिप्सिङ' गरेर, दर्शकलाई भ्रममा पार्दिनँ।
'समाज सेवा' भन्दिनँ, डलर खेती गरेर,
धर्म र कर्म भन्दिनँ, भ्रमको बीउ छरेर।
ल्याउँदिनँ कुकुर कराउँदै, अर्काको बारीमा चराउँदै।
जहाँसुकै दिसा पिसाब, कुकुर मालिक भुइँफुट्टा।
कुकुर स्वायत प्रदेशमा, उचाल्न लाउँला एक खुट्टा।
खाना मागेर फाल्दिनँ, 'डस्टबिन'मा लगेर हाल्दिनँ।
आगोमा घिउ थप्दिनँ, झगडा देख्न सक्दिनँ।
मैमात्र जान्ने भन्दिनँ, नराम्रो कुरा सुन्दिनँ।
रेडलाइटमा बाटो काटि्दनँ। ट्राफिक दाइलाई ढाट्दिनँ।
'नो पार्किङ' ध्यान दिन्छु, 'यस पार्किङ'को ज्ञान लिन्छु।
जथाभावी खनेर, खाल्डो पार्दिनँ आज म-
पारे पनि पुरेर, ठीक गर्दिन्छु साँझमा।
जाँड-रक्सी धोकेर, कुट्ने छैन श्रीमती।
डिस्को नाँची कोठामा,वाक्क पार्नेछैन छिमेकी।
होमवर्क गर्न छोडेर, टिभीतिर जादिनँ।
असम्भव प्रतिज्ञा गरेर, वाचा कसम खाँदिनँ।

-पुनश्चः उपरोक्त प्रतिज्ञा कसैको व्यक्तिगत जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुने छैन साभार:- साप्ताहिक

No comments:

Sign / View My Guestbook
Your Full Name **
Enter your email adress **
Your website address
This moment you are in
Write something about this site **